नेपाल बीमा प्राधिकरणको कार्य शुभारम्भ नेपाल बीमा प्राधिकरण स्वायत्तताको अभ्यास गर्दै अघि बढ्छ : अध्यक्ष सिलवाल
नेपालको संविधान बमोजिम सङ्घीय संसद्बाट बनेको बीमा ऐन, २०७९ लागू भएको दिन यही २०७९ साल कात्तिक २२ गते मङ्गलबारदेखि बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’ मा परिणत भएको छ ।
त्यस अवसरमा ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको कार्यालयमा यही कात्तिक २२ गते आयोजित कार्यक्रमका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको साइनबोर्ड अनावरण गर्नुभई प्राधिकरणको काम कारवाहीको औपचारिकरुपमा शुभारम्भ गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले जलवायु परिवर्तनबाट बढ्दै गएका जोखिम विरुद्धसबैलाई आर्थिक सुरक्षण प्रदान गर्ने लगायतका हालका आवश्यकता र यसअघिको बीमा ऐनले सम्बोधन गर्न नसकेका विषयहरुलाई बीमा ऐन, २०७९ ले सम्बोधन गरेको बताउनुभयो ।
“बीमा ऐन, २०७९ ले नेपाल बीमा प्राधिकरणको स्वायत्ततालाई सुनिश्चित गरेको छ, प्राधिकरण स्वायत्तताको अभ्यास गर्दै अघि बढ्छ”, अध्यक्ष सिलवालले भन्नुभयो, “विपन्न बर्गसम्म बीमाको पहुँच विस्तार, समयमैं बीमा दावी भुक्तानी, बीमितको हक हितको संरक्षण, बीमा शिक्षा तथा सचेतना अभिवृद्धि, बीमा सूचना केन्द्रको स्थापना र लघुबीमाको प्रवद्र्धनका लागि ऐनमै व्यवस्था भएको छ ।”
अध्यक्ष सिलवालले बीमा ऐन, २०७९ले बीमाका अन्य पक्षहरुलाई समेत नियमन तथा सुपरीवेक्षण गर्नसक्ने अधिकार प्राधिकरणलाई दिएको उल्लेख गर्नुहुँदै बीमक मात्र नभई बीमितले समेत जालसाजी र मिलेमतो गरी ठगी लगायतका बदमासी गरेमा दण्ड सजाय गर्न सकिने व्यवस्था रहेको बताउनुभयो ।
अध्यक्ष सिलवालले विगत ३० वर्षको अवधिमा बीमा क्षेत्रमा भएको विकासलाई बीमा ऐन, २०७९ ले सम्बोधन गरेको उल्लेख गर्नुहुँदै अन्तर्राष्ट्रिय अभ्यास र टुल्सहरु प्रयोग गरी बीमाको प्रवद्र्धन गर्न र सुशासन कायम गर्न मार्ग प्रशस्त भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐन, २०७९ ले प्राधिकरणलाई थप अधिकार सहित स्वायत्त बनाएको र बीमा विकास कोष तथा बीमित हित संरक्षण कोष मार्फत विपन्न बर्गसम्म बीमाको पहुँच विस्तार तथा बीमितको हक हितको सुरक्षा समेत सुनिश्चित भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरु कमलप्रसाद रेग्मी, सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) र दिनेश कुमार लाल लगायत कर्मचारीहरु र विभिन्न संचार माध्यमका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।