अर्थमन्त्री शर्माबाट बीमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन
बीमालाई शहर बजारमा मात्र सीमित नराखी गाउँ गाउँसम्म पुर्याउन अर्थमन्त्री शर्माबाट निर्देशन
माननीय अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिले कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरेको प्रदेश कार्यालयको यही २०७९ साल भाद्र १६ गते उद्घाटन गर्नुभएको छ ।
समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री शर्माले बीमामा विश्वसनीयता कायम गर्न र बीमालाई शहर बजारमा मात्र सीमित नराखी गाउँ गाउँसम्म पुर्याउन निर्देशन दिनुभयो ।
अर्थमन्त्री शर्माले बीमाको पहुँच विस्तारका लागि कृषकहरुको समूह बनाएर बीमा साक्षरता अभियान संचालन गर्न र देशका सबै पालिकामा बीमाको पहुँच पुग्ने गरी ठोस कार्यक्रमका साथ अघि बढ्न बीमा समिति र बीमा कम्पनीहरुलाई निर्देशन दिनुभयो ।
अर्थमन्त्री शर्माले संविधानमा सङ्घ र प्रदेशको साझा अधिकारमा बीमा व्यवसाय पनि रहेकाले प्रदेश सरकारले पनि बीमाको पहुँच विस्तारका लागि बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभयो ।
कर्णाली प्रदेशका माननीय भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही र माननीय आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाहीले गरीव परिवारहरुलाई बीमाको पहुँचमा ल्याउनका लागि विशेष प्याकेज ल्याउन बीमा समितिलाई सुझाव दिनुभयो ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा व्यवसायलाई विविधीकरण गर्दै ग्रामीण एवम् पिछडिएका क्षेत्रका गरीव, विपन्न र सीमान्तकृत बर्गलाई बीमाको दायरामा ल्याउन समितिले विभिन्न कार्य गर्दै आएको जानकारी दिनुभयो ।
समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले.सातवटै प्रदेशमा समितिका प्रदेश कार्यालय स्थापना गर्ने नीति अनुरुप सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशमा गत आर्थिक वर्षमा प्रदेश कार्यालयहरु स्थापना गरिएको र बाँकी प्रदेशमा चालू आर्थिक वर्षमा प्रदेश कार्यालयहरु स्थापना गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
समारोहमा जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ र निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको संचालन बीमा समितिको कर्णाली प्रदेशका प्रमुख, उपनिर्देशक पदमप्रसाद सोडारीले गर्नुभएको थियो ।